मिति २०६५।११।२० गते पछिल्लो पटक वैज्ञानिक पद्दतिको प्रयोग गरेर सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडादर निर्धारण भएको थियो । भाडादर निर्धारणको लागि सार्वजनिक सवारी साधनमा प्रयोग हुने स्पेयर पार्टस, कर्मचारीको तलब भत्ता, कर, बीमा, मर्मत सम्भार, इन्धन, सवारी कर्जाको व्याज, व्याट्री लगायत खर्चलाई आधार मानिएको छ । भाडादरमा इन्धनको ३५ प्रतिशत र अन्यको ६५ प्रतिशत भार राखी सुत्र (Formula) तय भएको थियो । यसै सुत्र (Formula) प्रयोग गरी मिति २०६५।११।२० र २०६६।१२।१३ गरी दुइ पटक भाडा दर समायोजन भइसकेको छ ।
मिति २०६६।१२।१३ मा वैज्ञानिक पद्दतिबाट भाडादर समायोजन गर्दा इन्धनको मुल्य रु ६१ प्रतिलिटर रहेको थियो । हाल इन्धनको मुल्य प्रतिलिटर रु ६८।५० छ । सवारी कर्जाको व्याजदर १५ प्रतिशत भएकोमा हाल औषत सेवा शुल्क सहित १८ प्रतिशत पुगको देखिन्छ । बीमामा रु ४००००।- भएकोमा हाल औषतमा रु ४५०००।- रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकको उपभोक्ता मुल्य सुचकांक (Consumer Price Index) को औषत बृद्धिदर ९.८ प्रतिशत रहेको छ । मर्मत सम्भार, व्याट्री, ह्रासकट्टी, अतिरिक्त खर्च, ओभरहेड खर्च, टायर र लुव्रिकेन्टसमा भएको बृद्धि यसै बमोजिम हुनुपर्ने देखिन्छ । कर्मचारीको तलब भत्ता तर्फ कुनै परिवर्तन भएको छैन । सवारी कर गत वर्ष रु ५६४०। रहेकोमा यस वर्ष रु ४२४०। तोकिई घटेको छ । सार्वजनिक सवारी साधन एक वर्ष गुडने औषत दुरी ७२,००० कि.मी. कायम गरी सोही आधारमा Engine Overall र Gear differential हिसाव मिलान गर्नु पर्ने देखिन्छ ।
गत बर्षभन्दा उपरोक्त कुराहरु परिवर्तन भएको हुँदा यी परिवर्तित आंकडालाई तय भइसकेको Formula मा प्रविष्ट गर्दा गत सालको भन्दा ९.२३ प्रतिशतले भाडा बृद्धि हुने गणितिय हिसाव देखिन्छ । तर माननीय मन्त्रीस्तर, श्रम तथा यातायात व्यवस्था मन्त्रालयको मिति २०६७।१०।२७ को निर्णयानुसार ९ प्रतिशतका दरले मात्र भाडा वृद्धि/समायोजन गर्न स्वीकृत/सहमति प्राप्त भई आएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन बमोजिम सार्क मलुकले सार्वजनिक सवारीको भाडा निर्धारण सम्बन्धमा अपनाएको विधिलाई अध्ययन गरी त्यसलाई प्रयोगमा ल्याउन हाल सकिएन । मन्त्रालयको निर्देशन बमोजिम आगामी बर्ष कार्यक्रम बनाई पेश गर्ने तयारीमा विभाग रहेको छ ।
यस पृष्ठभूमीबाट उपरोक्त पद्दतीबाट प्राप्त परिणाम मध्ये सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडादर यस पूर्व मिति २०६६।१२।१३ मा कायम भइ हाल सम्म कार्यान्वयनमा रहेको भाडादरमा ९ प्रतिशतका दरले समायोजन/बृद्धि गर्ने गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १५३ (घ) को प्रयोग गरी विभागबाट मिति २०६७।१०।१९ मा निर्णय भएको कुरा सर्वसाधारणको जानकारीको लागि यो विज्ञप्ती प्रकाशित गरिएको छ । हरेक रुट अनुसारको भाडादर राष्ट्रियस्तरको दैनिक पत्रिकामा यथाशिघ्र प्रकाशित गरी सवैलाई सूचित गराईने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।
मितिः २०६७।१०।१९
कोटेश्वर, काठमाडौं